नागनागिनीको तस्बिर र तपाईंको घर

  • Get News Alerts

घरको ढोकामा नागको चित्र टाँसेर पूजा गर्दा रक्षा हुन्छ भन्ने आस्थाका कारण आज हिन्दु धर्मावलम्बीहरुले आआफ्ना घरको ढोकामा नाग–नागिनीको जोडी भएको तस्बिर टाँसेर पूजा गर्दैछन् । यसको पछाडि कुनै वैज्ञानिक कारण वा प्रामाणिक अवधारणा नभएको तथा केवल कोरा रितिरिवाजका रुपमा बुझ्दा यो प्रकृया हामीमध्ये कतिलाई त हास्यास्पद पनि लाग्छ । तर यो विश्वासको कारण खोतल्न थाल्यौँ भने पक्कै यसको कारण अथवा यसो गर्नाको पछाडि के रहस्य छ, पत्ता लाग्न सक्छ ।

घर र गृहस्थी दुई अलगअलग कुरा भए पनि यिनीहरुको एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध छ भन्दा कसैको दुई मत नहोला । घरबिनाको गृहस्थी र गृहस्थीबिनाको घर प्रायः असम्भव छ । कथन कदाचित सम्भव देखिए पनि अपूर्ण नै हुन्छ । यसै सन्दर्भमा नागपन्चमीमा पालना गरिने हिन्दु प्रचलनको शाब्दिक अर्थ अलग्याएर त्यसको कारण अथवा लाक्षणिक व्याख्या खोजेको खण्डमा यसले आधुनिक समाजकै लागि रचनात्मक प्रेरणा दिन सक्छ ।

गृहस्थी जीवन पति–पत्नीको सौहार्दपूर्ण समन्वय, पारस्परिक प्रेम विना सम्भव हुँदैन । हिन्दु धर्म अन्तर्गतका पुराण तथा किंवदन्तीहरुमा नाग–नागिनी बीचको अगाढ माया पिरतीलाई प्रेमको आदर्शको रुपमा चित्रित गरेको पाईन्छ । नाग–नागिनीको जोडीमध्ये कुनै एकलाई यदि कसैले मारेको खण्डमा उक्त जोडीमा बाँचेकाले आफ्नो प्रेमी वा प्रेमिकाको हत्यारालाई खोजी खोजी डसेर मार्छ भन्ने विश्वास हामीबीच अझै छँदैछ । यसलाई गहनताका साथ मनन गर्ने हो भने ढोकामा टाँगिएको नाग–नागिनीको जोडी भएको तस्बिरले गृहस्थीका दुई पांग्रा पतिपत्नीलाई सदासर्वदा एक आपसमा सहयोग, समन्वय, समझदारी तथा निस्वार्थ प्रेममा रहिरहन घर तथा कोठाभित्र प्रवेश गर्दाको हरेक क्षण प्रेरणा दिइरहेको हुन्छ । खाँचो छ केवल यो सन्देश आत्मसात गर्ने गृहस्थी जोडीको । यही तथ्य हृदयङगम गरी सोही अनुरुप गृहस्थ्य जीवन संचालन गर्ने जोडीहरु आजको आधुनिक समाजमा उदाहरणीय उत्कृष्ट जोडीका रुपमा परिचित छन् । त्यसै गरी यो मर्म नबुझेर वा बुझेर पनि बुझ पचाउने या प्रयोग गर्न नसक्ने असफल गृहस्थी जोडीका उदाहरण पनि हाम्रो समाजमा नभएका हैनन् ।

अनुकरणीय आदर्श गृहस्थी वा अन्य जुनसुकै प्रकारको गृहस्थी जीवन यापन गर्न आवश्यक प्रमूख भौतिक पूर्वाधार वा संरचना भनेको घर हो । उक्त घर सही मानेमा बलियो, टिकाउ तथा गृहस्थीको आर्थिक श्रोत अनुरुपको हुनु अत्यन्त जरुरी हुन्छ । हिन्दु धर्म अन्तर्गतका पुराण तथा किंबदन्तीहरु अनुसार संसारमा सबभन्दा बढी तन्कन सक्ने क्षमता नागमा छ । उदाहरणका लागि समुद्र मन्थन गर्दा मन्दाचल पर्बतलाई मदानी बनाएर त्यसको नेती चाहीँ नाग बनेको कथन छ । उक्त नेतीको दुई छेउ मध्ये एक देवताहरुले र अर्को टुप्पो असुरहरुले समाएर समुन्द्र मन्थन गरेको पौराणिक कथा हामी सबैले सुनेका छौँ । त्यसै गरी अर्को एक कथन अनुसार देवादिदेव महादेवले तारकासुर दैँत्य बधको लागि देवताहरुले तयार पारेको धनुको ताँदो पनि शेष नाग भएको बर्णन छ । यी कथाले नागको लामो आकार तथा तन्किन सक्ने क्षमता सब भन्दा बढी भएको प्रष्ट पारेका छन् । घर बनाउँदा जगदेखि छत सम्म विभिन्न ठाउँमा घरका सबै गारोहरुलाइ नाग जस्तै लामो र तन्कने क्षमता भएको बस्तुले बाँधेको खण्डमा हुरी, बतास, आँधिबेहरी तथा भूकम्प जस्ता प्रकोपहरुबाट समेत सुरक्षित हुने कुरा सत्य हो । नेपालका पुराना घर, मठ, मन्दिरहरु आदिमा घरको विभिन्न तहमा पुरै गारोहरुलाई त्यस्तै प्रकारका बन्धनहरुले बाँध्ने प्रचलन थियो । यसको प्रमाण नेपाल भरिकै पुराना निर्माणहरुमा पाइन्छ । अझ नियालेर हेर्ने हो भने त्यस्ता वन्धनहरुमा नागकै आकारको बुट्टा कुँदीएको हुन्छ । यसले नागको प्रमुख दुई विशेषता अर्थात् लामो आकार र जति तान्दा पनि नछिन्ने गुणको महत्व दर्शाउँछ । घरलाइ बलियो तथा प्रकोप प्रतिरोधक बनाउन नागकै जस्तो गुण भएको निर्माण सामग्रीको प्रयोग गरी विभिन्न तहमा तेर्सो बन्धन राखेमा घर बलियो तथा टिकाउ हून्छ अर्थात् घर गृहस्थी दुबैको रक्षा हुन्छ भन्ने सन्देश नाग पंचमीको महिमामा लुकेको छ । यसको प्रमाणका रुपमा नेपालको तराई भेगमा नाग पंचमी मनाउँदा ढोकामा नागको फोटो टाँस्नुभन्दा घरको चारैतिरको भित्तालाई समाउने गरी कतै पनि रेखा नछुटाई घरकै भित्तामा नागले बेरेझैँ देखिने गरी पोत्ने गरिन्छ । अधिक तन्कने क्षमता प्रचूर भएका निर्माण सामग्रीले घरलाई विभिन्न तहमा सबै गारोहरुलाई बाँध्नेगरी बन्धन राखेको घर बलियो हुने कुरामा आधुनिक निर्माण प्रविधिको पनि विमति छैन । खास गरी भूकम्प प्रतिरोधात्मक घर निर्माणमा यस्ता तेर्सो बन्धनको अहम महत्व रहन्छ ।

हिन्दु धार्मिक परम्परामा गाईदानको सबभन्दा ठूलो महत्व छ । प्रत्येक धार्मिक व्यक्तिले आफ्नो जीवनकालमा धेरै पटक गाईदान गर्ने गरेको तथ्य हामी सबैलाई थाहा छ । आजकालको आधुनिक जमानामा कुनै पनि दानीको गाईदान गर्ने क्षमता र गाईदान लिएर पालन पोषण गर्ने दक्षतामा ह्रास हुँदै गएको छ । यसको  बदलामा हामी गाईको चित्र भएको सिक्कालाई गाई मानेर काम चलाउन थालेको पनि धेरै दशक भइसक्यो जुन कुरा आज भन्दा सय वर्ष अगाडि कसैले कल्पना समेत गर्दैनथिए होलान् । जीवित गाईको ठाउँमा ठूलो सिक्का र वाच्छीको सट्टा सानो सिक्का राखेर गाई–बाच्छी मानेर दान गर्दा कमाइने पुण्यमा के कति फरक पर्छ त्यो ब्याख्या गर्ने क्षमता म मा छैन । तर पति–पत्नी अथवा गृहस्थी रुपी रथका दुइ पांग्रा वीचको आपसी समझदारी, माया प्रेम र पारस्परिक सहयोग नभएका जोडीका घरमा नागको फोटो त के स्वयं शेष नागनै घरमा राखेर प्रत्येक साँझ विहान नित्य पूजा गरे पनि तिनीहरुको गृहस्थ्य जीवन सफल नहुनेमा भने मेरो अटल विश्वास छ । त्यसै गरी घर बनाउँदा नागजस्तै तन्कन सक्ने तथा बलियो बस्तुले घरका सबै गारोहरुलाइ विभिन्न तहमा बन्धन नगरेको घरको ढोकामा वर्षको एक पटक नागको फोटो टाँसेर पुजा आरती गर्दैमा घरको रक्षा हुन्छ भन्ने विश्वास भने मलाई एक रत्ति पनि छैन । त्यसैले नाग पंचमीको पावन पर्वमा गाइ दानको बदला सिक्का दान गरेर पुन्य कमाए पनि वर्षको एक पटक ढोकामा नागको फोटो टाँसेर पुजा आराधना गर्दा नाग–नागिनीको जोडी जस्तै पति–पत्नीको एक आपसमा समझदारी, पारस्परिक सहयोग तथा प्रेम बढाउने प्रेरणा मिलोस् । अनि मात्र नाग पंचमीको पूजाले सार्थकता पाउँछ । त्यसै गरी घर बनाउँदा घरका सबै गारोहरुलाइ नागले बेरेझैँ गरेर बलियो तथा टिकाउ बस्तुको बन्धन विभिन्न तहमा राख्ने प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।

यदी हामी सबैले नाग पंचमीको यो दिनमा माथिका दुई प्रेरणादायक प्रसंगलाइ आत्मासात गरेको खण्डमा भने नाग पंचमीको महत्व चीरस्थायी हुनुका साथै ढोकामा टाँगीएका नाग–नागिनीले हाम्रो गृहस्थ जीवन तथा घर दुबैको रक्षा हुन्छ । नत्र “भाग्य छ भन्दैमा डोकामा दुध दोहेर अडिदैन” भने जस्तै हुन्छ ।

भूकम्प प्रविधि तालिम विशेषज्ञ उपाध्याय भूकम्प प्रविधि राष्ट्रिय समाजनेपालमा छन् ।

bupadhyay@nset.org.np

प्रतिकृया दिनुहोस